मुगु सोरु गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार, १४ जना विरुद्ध मुद्दा
मुगु।सोरु गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोरु–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ३६ लाख ४० हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो । जनश्रमदान तीन लाख ७३ हजार ४३९ सहित योजनाको कूल लागत ४० लाख १३ हजार ४३९ रुपैयाँ तय गरिएको थियो । तर, सम्झौता बमोजिमको काम नगरी बढी मूल्याङ्कन गरी ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पाइएको अख्तियारले जनाएको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सव–इञ्जिनियर जगतबहादुर मल्ल विरुद्ध सोही रकम बराबरको बिगो दाबी गरेको छ ।
त्यस्तै गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध समेत बिगो माग दाबी गरिएको छ ।
अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध भने कैद र जरिवानाको माग दाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।












