नेपाल युनाइट्सको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, युवामैत्री कार्यक्रम प्राथमिकतामा
काठमाडौँ।सामाजिक रूपान्तरणमा युवाको सक्रिय सहभागिता बढाउँदै लैजाने उद्देश्यसहित नेपाल युनाइट्सले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। राजधानीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीका रूपमा प्रतिनिधि सभा सदस्य माननीय प्रतीक्षा तिवारीको उपस्थिति विशेष रह्यो।



प्रमुख अतिथि तिवारीले नेपालमै बसेर सकारात्मक तथा सिर्जनात्मक कार्यमार्फत देश विकासमा योगदान गर्न युवालाई आह्वान गर्दै आगामी दिनमा नेपाल युनाइट्सलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गत वर्ष सम्पन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका राष्ट्रिय निर्देशक मोहम्मद आयातुल्ला रहमानले विद्यालयस्तरमा नेतृत्व विकास तालिम, कोशी प्रदेशमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, तिहार–छठमा धार्मिक सद्भाव अभिवृद्धि कार्यक्रम लगायतका गतिविधिहरूको प्रगति सार्वजनिक गर्नुभयो। साथै मानसिक स्वास्थ्य कार्यशाला, दाइजो प्रथा विरुद्ध अन्तरक्रिया, सप्तरीमा संस्थागत विकास र अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रममार्फत अर्थतन्त्रलाई सहयोग गर्ने अभियानबारे पनि जानकारी दिइयो।


नेपाल युनाइट्सको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, युवामैत्री कार्यक्रम प्राथमिकतामा
आगामी वर्षलाई युवामुखी बनाउन सिपमूलक कार्यक्रमलाई प्राथमिकता दिइने र Future Leadership Conference आयोजना गर्ने योजनासमेत सभामा प्रस्तुत गरियो।
कार्यक्रम संस्थाका अध्यक्ष मोहम्मद जियायल रहमानको अध्यक्षतामा सम्पन्न भएको हो। उपाध्यक्ष कञ्चन कुमारी शाहले शुभकामना मन्तव्य राख्नुभयो भने संचालन सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो।
नेपाल युनाइट्सले अन्त्यमा सामाजिक रूपान्तरणका हरेक चरणमा युवाको सहभागिता अझ सबल बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।














