पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा, देश दौडाहामा लाग्दै – Sagarmathapana:: Online News Portal

पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा, देश दौडाहामा लाग्दै

   २०८२ भाद्र २ गते  

काठमाडौं।दुई कार्यकालसम्म राष्ट्रप्रमुखको जिम्मेवारी वहन गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेकी छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र औपचारिक प्रवेशमा रोक लगाएको घटनापछि भण्डारी अझ आक्रामक मुद्रामा देखिएकी हुन्।

भण्डारीले आफूलाई दिइने पूर्वराष्ट्रपतिको सेवा–सुविधा त्याग्दै पार्टी राजनीतिमा फर्कन खोजेकी थिइन्। तर एमालेले सक्रिय सदस्यतामै रोक लगाएपछि उनी मदन भण्डारी फाउण्डेशनको ब्यानरमार्फत राजनीतिक अभियान अघि बढाउने तयारीमा छिन्।

भण्डारीले सोमबारदेखि नै प्रदेशस्तरीय कार्यक्रम सुरु गर्ने भएकी छिन्। पहिलो चरणमा उनी कोशी प्रदेशको विराटनगर पुग्दै छिन्, जहाँ उद्घोष दैनिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउनेछिन्। सोही अवसरमा उनले एमालेका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यस्तै, भदौ ५ गते काठमाडौंको थापागाउँमा मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, भदौ १४ गते उनले मधेस प्रदेशको वीरगञ्जमा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछिन्।

राजनीतिमा आफ्नो उदयदेखि नै एमालेसँग आबद्ध रहिएकी भण्डारीलाई पार्टीले पाँचपटक निर्वाचनमा उम्मेदवार बनाएको थियो। उनले २०५० सालको उपनिर्वाचनदेखि २०५६ को आमनिर्वाचनसम्म काठमाडौं–१ बाट विजयी भइन् भने २०६४ सालमा भने पराजय भोग्नुपरेको थियो।

संवैधानिक जिम्मेवारीतर्फ पनि उनले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरिन्। २०५३ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, २०६६ सालमा सांसद नभए पनि रक्षामन्त्री, २०७२ सालमा पहिलो महिला राष्ट्रपति र २०७४ मा दोहोर्‍याएर राष्ट्रप्रमुखको पद सम्हालिन्

एमालेका कतिपय नेताहरूका अनुसार, पार्टीले भण्डारीलाई निरन्तर अवसर दिएको भए पनि अहिले उनी शिखरमा पुगिसकेकाले पुनः राजनीतिक प्रतिस्पर्धामा उत्रनुभन्दा गणतन्त्र र राष्ट्रपति पदको गरिमा उचाल्ने जिम्मेवारी बोकेको उनीमा अपेक्षा गरिएको छ।

तर भण्डारीका निकटस्थ नेताहरू भने भन्छन् – “मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न सक्दैन, विद्या भण्डारी अझ सक्रिय भएर राजनीतिक भूमिकामा फर्किनेछिन्।”

यससँगै पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनले आगामी दिनमा एमालेभित्र र मुलुककै राजनीतिक परिवेशमा नयाँ समीकरण बन्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै