सतीदेवी’को भर्जिनीयामा विशेष प्रदर्शन,तीजको अवसरमा नारी सम्मानार्थ आयोजना
काठमाडौं।नारी केन्द्रित नेपाली चलचित्र ‘सतीदेवी’ आउँदो शनिबार (साउन ३१ / अगस्त १६) अमेरिकाको भर्जिनीयामा विशेष प्रदर्शन हुने भएको छ। महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नारी सम्मानार्थ सो विशेष शो आयोजना गर्न लागिएको जानकारी कार्यक्रम संयोजक पुष्कर पन्तले दिएका छन्।
अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका पन्त नेपाली चलचित्र निर्माण, कलाकारिता र समाजसेवामा सक्रिय व्यक्तित्व हुन्। उनका अनुसार ‘सतीदेवी’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दर्जनौं अवार्ड जितेको चर्चित फिल्म भएकाले यसलाई विशेष रूपमा प्रस्तुत गर्न लागिएको हो। “मौलिक र पारिवारिक चलचित्रलाई दर्शकसम्म पु-याउन हामीले यो अवसर रोजेका हौं। नेपाली कला, संस्कृति र आफ्नोपन जोगाउन हरेकले योगदान दिनुपर्छ भन्ने हाम्रो विश्वास हो,” पन्तले भने।
चलचित्र विकास बोर्डको राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कारसहित एक दर्जन अवार्ड जितिसकेको ‘सतीदेवी’ को लेखन, निर्माण र निर्देशन लक्ष्मण सुवेदीले गरेका हुन्। फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बाल कलाकार हर्षिका वली र मञ्जिला बानीयाँ लगायत कलाकारको अभिनय छ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी, क्यालिफोर्नियासँग सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्मातामा दिलासा सुवेदी, सारा सुवेदी, श्रीदेवी सुवेदी र बिशाल सुवेदी रहेका छन्। निर्देशक सुवेदीका अनुसार भर्जिनीयापछि अन्य अमेरिकी स्टेटहरूमा पनि ‘सतीदेवी’ को विशेष प्रदर्शन गरिने तयारी भइरहेको छ।












