प्रकाश सपूतको नयाँ तीज गीतमा महिला सशक्तीकरणको सन्देश
काठमाडौं-नेपाली महिलाहरूको महान चाड तीज नजिकिँदै गर्दा लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूतले नयाँ तीज गीत ‘बदला बरिलै २ : नाईं भनेसी नाईं’ सार्वजनिक गरेका छन्। गीत सार्वजनिक भएसँगै यसले सामाजिक सन्देश, विशुद्ध कलात्मकता र दमदार अभिनयका कारण दर्शकमाझ विशेष चर्चा पाइरहेको छ।
यसपटक प्रकाश सपूतले गीतलाई केवल तीजको रमाइलोको रूपमा सीमित नराखी महिलामाथि हुने सामाजिक अन्याय, विभेद र त्यसपछि हुने उनीहरूको सशक्तीकरणको विषयलाई गहिरोसँग उठाएका छन्। गीतमा कुनै पनि अश्लीलता, अनावश्यक ब्रान्ड प्रमोशन या अतिशयोक्ति नराखी, मौलिक कथावस्तुमा केन्द्रित भएर सशक्त प्रस्तुति दिइएको छ।

गीतको मुख्य आकर्षण बनेकी छन् चर्चित अभिनेत्री रेखा थापा, जसले पछिल्लो समय कम देखिएको भए पनि यस गीतमार्फत सशक्त कमब्याक गरेकी छन्। उनको अभिनयले गीतको भाव र कथालाई नयाँ उचाइमा पुर्याएको छ। धेरै दर्शकहरूले गीतमा रेखाको अभिनयलाई ‘सिनेमाजस्तो अनुभूति दिने’ भन्दै प्रशंसा गरेका छन्।
गीतमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ। दुबै गायिकाले गीतलाई भावपूर्ण र सशक्त बनाएकी छन्। यद्यपि निजी जीवनका कारण समीक्षा अधिकारी केही समय चर्चामा रहेकी थिइन्, उनले गायन यात्रामा आफूलाई अझ व्यावसायिक रूपमा प्रस्तुत गरेकी छन्।
भिडियोमा रेखा थापा बाहेक सिम्रन खड्का, सन्जोग बराईली र स्वयं प्रकाश सपूतको पनि अभिनय देख्न सकिन्छ। गीतको शब्द, संगीत, निर्देशन सबै प्रकाश सपूतकै रहेको छ, जसले फेरि एकपटक उनीलाई बहुपक्षीय प्रतिभा भएको कलाकारका रूपमा स्थापित गरेको छ।
हालसम्म युट्युबमा अपेक्षित ‘भ्युज’को गतिमा नपुगे पनि सामाजिक सञ्जालमा व्यापक चर्चा पाउँदै आएको यो गीतलाई दर्शकले मनबाट स्वागत गरिरहेका छन्। गीतको सन्देश, कथावस्तु र अभिनयको संयोजनले यो तीज गीतलाई भिन्न र अविस्मरणीय बनाएको छ।












