अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टर सार्वजनिक,अनुहारमै देखियो खुसी र तनाव
काठमाडौं।सेभेन सिज सिनेमाको प्रस्तुति रहने बहुप्रतिक्षित नेपाली सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। बिहीवार सार्वजनिक पोस्टरले सिनेमा भित्रको कथावस्तुको झलक दिन खोजेको देखिन्छ – जहाँ कलाकारहरूको अनुहारमा खुसी र तनावको मिश्रण प्रष्ट देखिन्छ।
पोस्टरमा मुख्य भूमिकामा रहेका कलाकार कामेश्वर चौरसियाको लामो कपाल र दारीसहितको हँसिलो अनुहार केन्द्रमा राखिएको छ, जसले कथामा उनी विशेष प्रभावशाली भूमिकामा रहेको संकेत गर्छ। उनीसँगै पोस्टरमा शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी पनि देखिएका छन्। प्रकाश, गौमाया र लक्ष्मीको अनुहारमा तनाव झल्किन्छ, जसले कथामा उत्पन्न द्वन्द्व र अन्योलको आभास दिन्छ।


रङ संयोजन, अनुहारको हावभाव र कलाकारहरूको उपस्थितिले फिल्मले पैसा, सम्बन्ध, विश्वास, र मनोवैज्ञानिक द्वन्द्वको विषय समेट्ने संकेत दिएको छ।
सिनेमा सुशान्त गौतमको निर्देशनमा बनेको हो, जुन उनको डेब्यु निर्देशन हो। कथा मुकेश खनालले लेखेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशकको भूमिकामा छन्।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमामा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माताको रुपमा जोडिएका छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर, आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र शरद महतो डिओपी रहेका छन्।
सिनेमा भदौ २७ गते नेपाली भाषामा रिलिज हुनेछ भने हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा प्रदर्शनमा आउनेछ।












