हुम्ला–मुगु लिङ्क रोड : लोतीखोलामा बेलीब्रिज जडान,तुइनको समस्या अन्त्य – Sagarmathapana:: Online News Portal

हुम्ला–मुगु लिङ्क रोड : लोतीखोलामा बेलीब्रिज जडान,तुइनको समस्या अन्त्य

   २०८२ श्रावण ११ गते  

काठमाडौँ-हुम्ला र मुगु जोड्ने महत्वपूर्ण पूर्वाधार लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ। चङ्खेली गाउँपालिकाको लोतीखोलामा करिब चार करोड ९८ लाख रुपैयाँ लागतमा बयालीस मिटर लामो बेलीब्रिज जडान गरिएको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार, पुल कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको छ। पुलको लम्बाइ ४२ मिटर, उचाइ ३.१५ मिटर, तीन वटा प्यानल र तीन वटा डेक रहेको जानकारी उनले दिए।

तुइन पार गर्ने बाध्यता अन्त्य

लोतीखोलामा पुल नहुँदा स्थानीयवासी वर्षौंसम्म समस्यामा परिरहेका थिए। हिउँदयाममा पानी घटेपछि खोलाबाटै सवारीसाधन पार गरिन्थ्यो भने हल्का सवारीसाधनका लागि काठको अस्थायी पुल बनाइन्थ्यो। वर्षायाममा बाढी आएर पुल बगाउँथ्यो र मानिसहरू तुइनमा तर्न बाध्य हुन्थे।

गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार, गाउँपालिकाको तीन वटा वडाका बासिन्दालाई तुइन तरेर केन्द्र आउनुपर्ने समस्या अब समाप्त भएको छ। उनले निरन्तर पहलपछि छोटो समयमा बेलीब्रिज निर्माण सम्पन्न भएको बताए।


यो पुल निर्माणसँगै हुम्ला–मुगु मात्र नभई जुम्ला, बाजुरा र आसपासका जिल्लासँगको सिधा आवतजावत सहज भएको छ। अब हुम्लावासीलाई राराताल भ्रमणका लागि बाजुरा हुँदै लामो बाटो जानुपर्ने छैन। मुगु, जुम्लालगायतका नागरिकलाई पनि कैलाश मानसरोवर दर्शन गर्न सहज हुने भएको छ

बेलीब्रिज यही साउन १३ गते औपचारिक रूपमा उद्घाटन हुँदैछ। चङ्खेलीको सलीसल्लाबाट मुगुको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (RAP-III) अन्तर्गत सडक चार वर्षअघि बनेपछि पुल निर्माण गरिएको हो।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय र जिल्लास्थित पूर्वाधार विकास कार्यालयबीच २०७८ साल मङ्सिर २३ गते सम्झौता भई करिब पाँच महिनामा पुल निर्माण सम्पन्न भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै