महिला टी–२० एसिया कपमा ठूला टिमलाई स्तब्ध पार्ने लक्ष्य
काठमाडौं । महिला टी–२० एसिया कपमा ठूला टिमलाई स्तब्ध पार्ने लक्ष्यका साथ नेपाली टोली आइतबार श्रीलंका जाँँदैछ ।
गत फागुनमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग अप्रत्यासित ४ विकेटको हार व्यहारेपछि नेपालले एसिया कप खेल्ने अवसर गुमाएको थियो । तर एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनलबाट बाहिरिएका नेपाल र थाइल्यान्डलाई एसिया कपमा समेट्ने निर्णय लियो ।
नेपाल रहेको समूहमा भारत, पाकिस्तान र यूएई छन् । नेपाल भन्दा तीनै टोली माथिल्लो स्तरका हुन् । भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्नु नेपालका लागि अवसर र चुनौती दुबै हुनेछ ।
पछिल्लो डेढ महिना अभ्यास गरेको नेपाली टोलीको लक्ष्य राम्रो क्रिकेट खेल्ने र ठूला टोलीलाई स्तब्ध पार्नु हुनेछ । त्यसको लागि अलराउण्डर सीता रानामगर, रुविना क्षेत्री बेलबासे र इन्दु बर्मामाथिको निर्भरता युवा खेलाडीले तोड्न सक्नुपर्छ ।
‘अहिले टोलीमा युवा खेलाडी धेरै हुनुहुन्छ । आफ्नो क्षमता देखाउन र ठूला टोलीविरुद्ध खेल्न यो भन्दा राम्रो केही पनि छैन’ कप्तान बर्माले अनलाइनखबरसँग भनिन्, ‘हाम्रो मुख्य लक्ष्य ठूला टोलीलाई अपसेट गर्नु हो ।’
प्रशिक्षक मनोज कटवाल पनि टोलीमा रहेका युवा खेलाडीमा खेल जिताउन सक्ने क्षमता रहेको बताउँछन् । तीव्र गतिका बलिङ अलराउण्डर पूजा र कविताले राम्रो प्रदर्शन गर्दै आएका छन् । सम्झना खड्का र रोमा थापा मध्यक्रमका भरपर्दा ब्याटर हुन् ।
उनका अनुसार कम्तीमा यूएई र पाकिस्तानलाई हराएर सेमिफाइनलमा पुग्ने टोलीको सपना छ । ‘टी–२० क्रिकेट भने १२० बल हो । एउटा खेलाडीले मात्र राम्रो खेल्यो भने जित्न सकिन्छ’, कप्तान बर्मा भन्छिन्, ‘यो एसिया कपबाट एउटा राम्रो क्रिकेट खेलेर फर्किनेवाला छौं ।’

नेपालले २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाकी सदस्य सीता राना मगर करिअरको अन्तिमतिर एसिया कप जस्तो ठूलो प्रतियोगिता खेल्दैछिन् । उनी २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा भन्दा राम्रो खेल्न चाहन्छिन् ।
नेपाल पाकिस्तानसँग ४७ रनमा अल आउट हुँदै ९ विकेट, श्रीलंकासँग २३ रनमा अल आउट हुँदै ८ विकेट र बंगलादेशविरुद्ध १३४ रनको लक्ष्य पछ्याउने क्रममा ४१ रनमा अल आउट हुँदै ९२ रनले हारेको थियो । थाइल्यान्डसँग ६३ रनमा अल आउट हुँदै ८ विकेटले हारेको थियो ।
भारतसँग १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २१ रनमा अल आउट भएको थियो ।
अनुभवी अलराउण्डर तथा पूर्वकप्तान रुविना क्षेत्री ब्याटिङमा नेपालको खम्बा हुन् । गत फागुनमा उनले माल्दिभ्सविरुद्ध ११८ रनको शतकीय इनिङ खेलेकी थिइन् । उनी शतक हान्ने अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो नेपाली खेलाडी समेत हुन् ।
‘यस पटक हामी भाग्यले खेल्न पाएका छौं । यो हाम्रो लागि चुनौती र अवसर दुबै हुनसक्छ’, एसिया कपमा राम्रो गर्न सके महिला क्रिकेटको सिनारियो परिवर्तन हुनसक्ने भन्दै उनले भनिन्, ‘पुरुष टोलीले विश्वकप खेलेर जसरी परिवर्तनहरु ल्याए, महिलाहरुबाट पनि त्यो ल्याउने हो कि भन्ने सोच छ ।’
‘टी–२० भनेको देश र नामले हुने रहेनछ । त्यो दिनमा राम्रो खेल्नुहुन्छ भने जुनसुकै टोलीलाई हराउन सकिन्छ’, रुबिना आत्मविश्वासी देखिइन्, ‘एसिया कपमा हामीले राम्रो क्रिकेट खेल्यौं र आफ्नो मिहिनेतमा विश्वास गर्यौं भने नतिजा जे पनि आउनसक्छ ।’
अघिल्लो साता सम्पन्न आईसीसी टी–२० विश्वकपमा नेपालले बंगलादेश र दक्षिण अफ्रिकालाई कडा चुनौती दिएको थियो । नेपालको उक्त प्रदर्शनले महिला टोलीको मनोबल झनै उच्च छ ।












