दिक्तेल रूपाकोट मझुवा गढी नगरपालिकाको टोलीले अशक्त परिवारलाई घरमै राहत तथा परिचय पत्र वितरण
दिक्तेल,खोटाङ—दिक्तेल रूपाकोट मझुवा गढी नगरपालिका–९ स्थित निर्मलिडाँडाका अशक्त परिवारहरुलाई राहत तथा अपांगता परिचयपत्र घरमै वितरण गरिएको छ।
नगरपालिकाका उपमेयर बिसन राई सहितको उच्चस्तरीय टोलीले शुक्रवार उक्त स्थानमा पुगेर असहाय, अपांग र आर्थिक रूपले पिछडिएका नागरिकहरूलाई घरमै सेवा उपलब्ध गराएको हो।

उक्त कार्यमा उपमेयर बिसन राईको सचिवालयले विशेष पहल र समन्वय गरेको थियो। टोलीले घरमै गई अपांगता परिचयपत्र वितरण गर्नुका साथै आवश्यक खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्रीसमेत हस्तान्तरण गरेको थियो।
कार्यक्रममा बोल्दै उपमेयर राईले भने, “सामाजिक न्याय र समावेशी सेवाको सुनिश्चितताका लागि हामी प्रत्येक नागरिकसम्म पुग्ने प्रतिवद्धतामा छौँ।”
स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो सेवामूलक पहलप्रति आभार व्यक्त गरेका छन्। साथै, यस्तो कार्यले अपांगता भएका नागरिकहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न थप प्रेरणा मिल्ने उनीहरूको भनाइ थियो।
नगरपालिकाले आगामी दिनहरूमा अन्य वडाहरूमा समेत यस्ता सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।













