आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती चुँदीरम्घामा तीन दिने कार्यक्रमका साथ मनाइने – Sagarmathapana:: Online News Portal

आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती चुँदीरम्घामा तीन दिने कार्यक्रमका साथ मनाइने

   २०८२ असार १९ गते  

दमौली।नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती उनकाे जन्मस्थल चुँदीरम्घामा भव्यताका साथ तीन दिनसम्म विविध कार्यक्रम गर्दै मनाइने भएको छ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मंगलबार बसेको बैठकले यही असार २७, २८ र २९ गते विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरी लगायतका कार्यक्रमहरू तय गरिएको छ।

वि.सं. १८७१ साल असार २९ गते चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यको वि.सं. १९२५ साल असोज ६ गते निधन भएको थियो। वाल्मीकि रामायणलाई नेपालीमा अनुवाद गरेर उनले नेपाली साहित्यमा ऐतिहासिक योगदान दिएका हुन्।

उनलाई आदिकवि उपाधि समकालीन साहित्यकार मोतीराम भट्टले प्रदान गरेका थिए। भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षा लगायतका कृतिहरू आज पनि सान्दर्भिक छन्। उनका पाण्डुलिपिहरूलाई संकलन गरी मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि भानुभक्त नेपाली साहित्यमा अमर भएका हुन्।

जन्मजयन्ती समारोहमा स्थानीय बासिन्दा, विद्यार्थी, साहित्यकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै