पर्यटन प्रवर्द्धन गर्न राससको तस्बीर प्रदर्शनी महत्त्वपूर्ण
काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले मुलुकको पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय समाचार समिति (रासस)को तस्बिर प्रदर्शनी महत्त्वपूर्ण भएको बताएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष थपलियाले प्रदर्शित तस्बिरले प्रकृतिसँगको सामीप्यता र सम्पदाको संरक्षण एवं प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
“प्रदर्शनीमा हामीले फोटो मात्रै हेरिरहेका छैनौँ, प्रकृतिको सामीप्यता प्राप्त हुने र देशको विभिन्न स्थानको सम्पदा, संस्कृतिलाई पनि उजागर गरिएको छ,”, उनले भने, “जलवायु परिवर्तनको जोखिमको असर नेपालमा परेको र हिमाल पग्लिरहेको सन्दर्भमा यसलाई अन्तरराष्ट्रियकरण गर्न फोटोलाई विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत सचेतना अभिवृद्धि गर्न जरुरी छ ।”
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्यसमेत रहेका थपलियाले पर्वतीय पर्यटनसम्बन्धी तस्बिरहरुलाई अन्तरराष्ट्रियकरण गर्न विभिन्न निकाय र ‘टुरिजम अपरेटर’मार्फत पहल गर्नुपर्ने र आगामी दिनमा यस्ता रचनात्मक कामलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, “देशका सुन्दर गन्तव्यहरुको प्रचार–प्रसार हुन सकेको छैन । सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारेर विश्वभरका पर्यटनलाई नेपाल गन्तव्यमा आकर्षण गरिनुपर्छ ।”
उनले पर्यटनकर्मी विभिन्न मुलुकमा ‘सेल्स मिसन र टुर मिटिङ’मा जाँदा पर्वतीय पर्यटन र साहसिक गन्तव्यका तस्बिरहरुलाई त्यहाँ प्रदर्शन गर्नसकेको खण्डमा नेपालको पर्यटन प्रवर्द्धनका निम्ति टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रबहादुर लामाले राससको तस्बिर प्रदर्शनीमा देशभरका तस्बिर एकै थलोमा नियाल्न सकिने भएकाले यस प्रदर्शनीले पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रियजगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताए ।
सो अवसरमा अध्यक्ष थपलियाले रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको पनि अवलोकन गरेका थिए । गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।












