तस्बिरमा नेपालको शान‘पर्वतीय पर्यटन’ प्रदर्शनीले भित्र्यायो नयाँ सम्भावना – Sagarmathapana:: Online News Portal

तस्बिरमा नेपालको शान‘पर्वतीय पर्यटन’ प्रदर्शनीले भित्र्यायो नयाँ सम्भावना

   २०८२ जेष्ठ २९ गते  

काठमाडौं— “तस्बिरले बोल्छ, देशको सुन्दरता देखाउँछ।” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको यही भनाइले राससद्वारा आयोजित पर्वतीय पर्यटन तस्बिर प्रदर्शनीको सार समेटिएको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ नामक प्रदर्शनीले नेपालको हिमाली सौन्दर्यता र पर्यटन सम्भावनालाई नयाँ कोणबाट उजागर गरेको छ।

जोशीले प्रदर्शनी अवलोकनपछि प्रतिक्रिया दिँदै भने, “प्रदर्शनी अत्यन्तै जानकारीमूलक, आकर्षक र प्रेरणादायक छ। यसले पर्यटकलाई नेपाल भ्रमण गर्न थप उत्साहित बनाउँछ।” पर्यटन बोर्ड यस्तो महत्वपूर्ण अभियानमा सहकार्य गर्न सधैं तयार रहेको उनले स्पष्ट पारे।

उनका अनुसार तस्बिरहरूले नेपालको प्राकृतिक र सांस्कृतिक विविधतालाई नजिकबाट देखाउने मात्र होइन, युवालाई स्वदेशमै अवसर पहिचान गर्न प्रेरित गर्ने काम पनि गर्छन्। “यी तस्बिरहरूले पर्यटनको विशाल सम्भावना देखाउँछन्,” उनले थपे।

जोशीले प्रदर्शनीमा समावेश तस्बिरलाई पुस्तकको रूपमा प्रकाशित गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गर्न सकिने सुझाव पनि दिए। “यसले नेपालको पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय स्तरमै प्रभाव पार्न सक्छ,” उनले विश्वास व्यक्त गरे।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पनि प्रदर्शनीले नेपालको हिमाली क्षेत्रको सौन्दर्यता र पर्यटनको महत्व जनसमक्ष ल्याउने बताए।

जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा देशको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खला, हिमाली जनजीवन र प्रमुख पर्यटकीय गन्तव्य झल्काउने ९६ उत्कृष्ट तस्बिरहरू प्रदर्शनीमा राखिएका छन्।

नेपाललाई विश्व पर्यटन नक्शामा अझ मजबुत बनाउन यस्तो प्रयास प्रेरणादायक र सार्थक देखिन्छ।

प्रदर्शनी विवरण:

  • आयोजक: राष्ट्रिय समाचार समिति (रासस)
  • स्थान: काठमाडौ
  • तस्बिर संख्या: ९६
  • मुख्य विषयवस्तु: पर्वतीय पर्यटन, हिमाली जनजीवन, पर्यटकीय गन्तव्यहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै