पर्यटन बोर्डको ‘कन्टेन्ट क्रियटर’ अभियान:नयाँ गन्तव्यको प्रचारमा युवा पुस्ता – Sagarmathapana:: Online News Portal

पर्यटन बोर्डको ‘कन्टेन्ट क्रियटर’ अभियान:नयाँ गन्तव्यको प्रचारमा युवा पुस्ता

   २०८२ बैशाख १६ गते  

काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकका नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसारमा युवा पुस्तालाई सक्रिय रुपमा सहभागी गराउने रणनीति अघि सारेको छ। बोर्डले मंगलबार काठमाडौंमा ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ नामक कार्यक्रम आयोजना गर्दै पर्यटन प्रवर्द्धनमा कन्टेन्ट क्रियटरहरुको भूमिका थप सशक्त बनाउन खोजेको हो।

कार्यक्रममा अपि हिमालदेखि मुन्धुम ट्रेलसम्मका विभिन्न अविज्ञात तथा कम प्रचार भएका गन्तव्यहरुको भिडियो प्रस्तुति गरिएको थियो। सातै प्रदेशका प्रतिनिधि कन्टेन्ट क्रियटरहरुले आ–आफ्नो क्षेत्रका सम्भावनायुक्त पर्यटकीय स्थलहरूको खोज, विशेषता र प्रचारको अवस्था झल्काउने सामग्री प्रस्तुत गरे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले परम्परागत र सीमित गन्तव्यको प्रचारमा मात्रै सीमित नरहेर, नयाँ गन्तव्यको खोजी र प्रवर्द्धनमा नयाँ पुस्तासँग सहकार्य गर्न आवश्यक रहेको बताए। उनले भने, “पर्यटनको ट्रेन्ड बदलिँदो छ, हामीले पनि नयाँ शैली अपनाएर डिजिटल माध्यमबाट प्रचार गर्नुपर्छ।”

उनका अनुसार देशभरका कन्टेन्ट क्रियटरहरूले जुनसुकै स्थानको सांस्कृतिक, प्राकृतिक र सामाजिक वैभव उजागर गरिरहेका छन्, त्यसलाई पर्यटन व्यवसायीसँग जोड्ने प्रयासको रुपमा यो कार्यक्रम आयोजना गरिएको हो। “हामी कन्टेन्ट क्रियटरहरुसँग मिलेर पर्यटनलाई रिइम्याजिन गर्न प्रतिबद्ध छौं,” जोशीले जोड दिए।

कार्यक्रममा लेखक तथा हिमाल मिडियाका प्रकाशक सम्पादक कनकमणि दीक्षितले परम्परागत प्रचारशैलीमा परिवर्तन आवश्यक भएको बताउँदै स्थानीय पर्यटन उपज उत्पादक र डिजिटल सामग्री सर्जकबीचको सहकार्यले गुणस्तरीय पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “अब सगरमाथा वा हिमाल मात्र होइन, हाम्रो सांस्कृतिक र विविध प्राकृतिक सम्पदाको प्रचार अपरिहार्य छ।”

कार्यक्रममा प्रदेशगत रूपमा चयन गरिएका कन्टेन्ट क्रियटर मनोज आचार्य (कोशी), मनिष रुचाल (मधेश र बागमती), हेमन्त भण्डारी (गण्डकी), पल्लव पण्डित (लुम्बिनी), सिर्जना ओली – सिर्जना सिज्जु (कर्णाली) र हेमन्त राई (सुदूरपश्चिम) ले आ–आफ्नो क्षेत्रका पर्यटकीय सम्भावनाबारे अनुभव साझा गरेका थिए।

कार्यक्रमको अन्त्यमा कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटरबीच अन्तर्क्रिया समेत गरिएको थियो, जसले भविष्यमा सहकार्यका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै