उपत्यकामा भोलिदेखि सार्वजनिक सवारी साधन नचलाउने घोषणा
काठमाडौं । यातायात व्यवसायीहरुले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचलाउने भएका छन् । सरकारले विगतमा पटक पटक गरेको सहमति पालना नगरेको आरोप लगाउँदै व्यवसायी र मजदुरहरुले सवारी साधनहरु नचलाउने घोषणा गरेका हुन् ।
सोमबार सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए ।
गत सोमबार नयाँ बसपार्क क्षेत्रमा श्रमिकहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको समूहले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिएकोमा समेत सवारी मजदुरहरूले आपत्ति जनाएका छन् ।
त्यसैगरी आज ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरहरुले प्रहरीको भ्यानमा समेत आगो लगाएका छन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका थिए ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका सह अध्यक्ष किरण रिजालले सरकारी निकायबाट यसअघि भएका समझदारी पालनामा अलमल तथा गाडीहरुमा गरिएको नियम विपरीतको जरिवानाको कारण आज अप्रिय घटना भएको जानकारी दिए । सवारी मजदुरहरुले आफ्ना माग राखेर गरेको प्रदर्शनमा घुसपैठ भएको कारण अप्रिय घटना भएको भनाइ रिजालको रहेको छ ।
न्युजहाउस नेपालसँगको कुराकानीका क्रममा रिजालले अब कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भइरहेको बताए । सकेसम्म सहज वातावरणलाई विग्रिन नदिने सोचमा व्यवसायी रमजदुर रहेको उनको भनाइ रहेको छ ।












