हर्क साम्पाङको राष्ट्रव्यापी अभियान घोषणा : ‘अब म दिन्छु नेतृत्व’
काठमाडौँ।धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत देशव्यापी रूपमा ‘Harka Sampang A Revolution Team’ निर्माण गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा गरिएको स्टाटसमार्फत उनले आफूलाई मन पराउने, विचार र कामलाई समर्थन गर्ने सबैलाई अभियानमा जोडिन आह्वान गरेका छन्। साम्पाङले लेखेका छन्, “अब देशै भरि Harka Sampang A Revolution Team बनाउनेछौँ ! मलाई मन पराउने, मेरो बिचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला !”
उनले अब आफू नेतृत्वमा आउने दाबी गर्दै लेखेका छन्, “अब म दिन्छु नेतृत्व ! अरुले सक्दैन, जान्दैन ! देशको माया लाग्छ भने जोडिनुहोला !”
धरानको स्थानीय सरकार सञ्चालनमा फरक शैली र गतिविधिका कारण चर्चामा रहेका मेयर साम्पाङले अब त्यो प्रभाव राष्ट्रिय तहमा विस्तार गर्ने संकेत दिएका छन्। सामाजिक परिवर्तन र विकासका पक्षमा आफूले थालिएको अभियानलाई व्यापक जनसमर्थन आवश्यक रहेको भन्दै उनले अभियानप्रति आकर्षित जो–कोहीलाई खुलेर साथ दिन आग्रह गरेका छन्।
सामाजिक अभियन्ताबाट राजनीतिमा होमिएका साम्पाङ पछिल्लो समय देशभर चर्चामा छन्।












