नयाँ वर्षको उपलक्ष्यमा पोखरामा ‘२० औं फेवा नववर्ष महोत्सव’ हुने
काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा पर्यटनको राजधानी पोखरामा ’२० औं फेवा नव वर्ष महोत्सव २०८२’ हुने भएको छ । होटल संघ नेपाल (हान) पोखराको संयोजनमा चैत ३० गतेदेखि वैशाख १ गतेसम्म लेकसाइड सडकमा महोत्सव हुन लागेको हो ।

संघले शुक्रबार सिनामंगलस्थित हाेटल एअरपाेर्टमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।
सन् २०२५ लाई पोखरा महानगरपामिकाद्वारा पोखरा भ्रमण वर्ष घोषणा गरेपछि आयोजना गर्न लागिएको महोत्सवले भ्रमण वर्षको लक्ष्यलाई पुरा गर्न सघाउ पुयाउने हानका केन्द्रीय अध्यक्ष विनायक शाहले बताए ।

विश्वकै प्रदुषित शहरकाे रूपमा चित्रित गर्दै काठमाडाैँमा चिकित्सकहरूले नेपालीहरूलाई घरबाहिर नजान सल्लाह दिइरहेकाे कुरा मनन गर्नुपर्ने अध्यक्ष शाहले उल्लेख गरे । केही दिन अगाडिकाे आन्दाेलन र कर्फ्युका कारण पर्यटकहरूले साेधपुछ गर्ने क्रम बढेसँगै पर्यटन क्षेत्रमा चुनाैती थपिएकाे बेला सरकार र निजी क्षेत्रले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि विश्वस्त पार्नुपर्ने कुरामा उनले जाेड दिए ।
नेपाली नयाँ वर्षलाई उल्लासमय रुपमा मनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्रायले सांस्कृतिक झाँकीसहित महोत्सवको आरम्भ हुने हान पाेखराका पूर्व अध्यक्ष बिकल शेरचनले जानकारी दिए ।
नेपाली खानाको प्रदर्शनी र प्रवद्र्धनलाई पनि महोत्सवमा विशेष जोड दिइनेछ । महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघअन्तर्गतका होटलमा होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने छ ।
अन्य पर्यटकीय प्रतिष्ठान र व्यवसायीले पनि सक्दो छुट तथा सहुलियत प्रदान गर्ने आयोजकले जनाएको छ, उनले भने, नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटकहरुको बसाई अवधि सम्व्याई आर्थिक चलायमानमा वृद्धि गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
महोत्सवकै प्रचारप्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख शहरहरुमा हालै ‘जाउँ है पोखरा’ अभियान संचालन गरी त्यस क्षेत्रका बासिन्दालाई फेवा महोत्सवमा सहभागिताका लागि आमन्त्रण गरिसकेका छ।
संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।
महोत्सवलाई सफतापूर्वक सम्पन्न गर्न २१ भन्दा बढी समिति गठन गरी एरिया संयोजकहरु समेत तोकिएको छ ।
प्रदेशस्तरीय मौनिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरन्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक प्रतियोगिता, व्याडमिन्टन कप, स्थानिय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, क्यी एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम महोत्सवका आकर्षणहरु रहनेछन् ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा चुनरी प्रा.ली, सह प्रायोजक बरुण वेभरेजको पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार मि. फोन पे, अन्नपुर्ण केबलकार, टोकला चिया, रहेका छन् भने इन्सुरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश, पोखरा महानगरपालिका रहनेछन् । होटल संघ नेपान, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय एवम् विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले सहयोग गर्ने विश्वास गरिएको छ ।












