भोजपुरमा आगलागी हुँदा १७ घर, ८ पाली र १० गोठ नष्ट
काठमाडौं/-भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन्।
नजिकैको पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा भोजपुर नगरपालिका–१२ पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रूद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईंको पाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
यस्तै, हावाहुरीसँगैको आगलागीले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ४, दलगाउँ केराबारीमा चार घर जलेर नष्ट भएको छ भने दुई वटा गाईगोठ र तीन वटा सुँगुरसमेत जलेर मरेको छ।












