गीतकार तथा सञ्चारकर्मी गीता अधिकारीले जन्मदिनको अवसर पारेर आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण
काठमाडौं । यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीतका गीतकार तथा सञ्चारकर्मी गीता अधिकारीले जन्मदिनको अवसर पारेर आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरेकी छन् ।



अधिकारीको पुस्तक लोकार्पण विशेष समारोहमा नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो ।
कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको उपस्थिति रहेको थियो ।



त्यस्तै, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतको उपस्थिति रहेको थियो ।


मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।
कार्यक्रममा लेखक अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताईन् । उनले यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याईसकेकी छन् ।














