बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च – Sagarmathapana:: Online News Portal

बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च

   २०७८ भाद्र ३१ गते  

३१ भदौ, काठमाडौं । बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएको छ । सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएको हो । त्यसअगाडि बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । यसरी खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च भने मात्र १६ करोड भएको तथ्यांकमा देखिएको छ । अब संसदको अर्को बैठक ४ असोजमा बोलाइएको छ । यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन ।

१५ जेठमा अध्यादेशबाट आएको बजेट निष्क्रिय हुने समय नजिकिँदै गर्दा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक संसदबाट पास भएपछि मात्र सरकारले बजेट खर्च गर्न सक्ने बाटो खुल्छ । प्रतिस्थापन विधेयक पनि पास नहुने अवस्था आएमा भने सरकारले अर्को विकल्प खोज्नु पर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै