भैरहवा विमानस्थलमा कतार एयर पछी थप तीन कम्पनीले पनि उडान स्थगित गर्ने
काठमाडौं । भैरहवा विमानस्थलमा तीन कम्पनीले उडान स्थगित गर्ने भएका छन् । उडान गरिरहेका कतार एयरले गत मंसिर १५ गतेसम्म रहेको उडान अनुमति नवीकरण गरेको थिएन ।
भैरहवा विमानस्थलमा उडान र अवतरण गर्दा हुस्सुका कारण समस्या भएको कारण देखाउँदै थप तीन कम्पनीले पनि उडान स्थगित गर्ने पत्र नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)मा पठाएको सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । यसअघि भैरहवाबाट पाँच अन्तर्राष्ट्रिय कम्पनीले उडान गरिरहेका थिए । एकपछि अर्को विमान कम्पनीले उडान स्थगित गर्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट दीर्घकालीन उडानमा समस्या हुने देखिएको छ । जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयरले मौसमको बहाना बनाउँदै तत्काललाई उडान स्थगित गर्ने पत्र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पठाएका हुन् ।
कुवेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले भैरहवाबाट उडानका निम्ति मौसम बाधक रहेको पत्र पठाएका हुन् । ती कम्पनीले मौसम खराबीलाई कारण देखाए पनि यात्रु पाउनै गाह्रो भएका कारण उडान स्थगित गर्न खोजेको स्रोत बताउँछ ।
यसअघि भैरहवाबाट उड्ने यात्रु नै नपाएपछि कतार एयरले मंसिर १५ सम्म रहेको उडान नवीकरण गरेन । कात्तिक २७ गतेदेखि भैरहवा उडान गरेको कतार एयरवेजले मंसिर १५ सम्म विमान उडाएको थियो । उक्त अवधिमा कतार एयरवेजले जम्मा ९३ यात्रु बोकेको छ । भैरहवाबाट उड्ने यात्रु नै नपाएपछि कतारले भैरहवाको अनुमति नवीकरण नगरेको त्यहाँकै कर्मचारीहरू बताउँछन् ।
मौसम खराबीको कारण देखाउँदै केही समयका निम्ति उडान स्थगनको अपिलसहित पत्र पठाएको भुलले जनाए । बिहानी समयमा भिजिबिलिटी निकै कम हुने भएकाले पनि विमान कम्पनीहरू तत्कालका निम्ति उडान स्थगन गर्ने निर्णयमा पुगेको उनले बताए ।
साना एटीआरदेखि ठूला जेट विमान अवतरणका निम्ति न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । भिजिबिलिटीमा समस्या देखाएर विमान कम्पनीहरूले भैरहवाबाट उडान स्थगन गर्न अपिल गरे पनि प्राधिकरणले स्वीकृति दिएको छैन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माणका निम्ति १० घण्टा बन्द भएपछि पाँचवटा कम्पनीले भैरहवातर्फ उडान सुरु गरेका थिए । जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्स समेत गरी पाँच कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि तीन कम्पनीको उडान स्थगित भएपछि सरकारी ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवा उडान भर्नेछ ।
एक महिनाको अवधिमा भैरहवा विमानस्थलबाट जम्मा चार हजार सात सय ७१ यात्रुले सेवा लिएका थिए । जसमा दुई हजार दुई सय ३८ यात्रु विदेश जाँदा दुई हजार पाँच सय ३३ यात्रु अवतरण गरेका थिए । समे अवधिमा कुल एक सय ५६ उडान/अवतरण भएका थिए । एक महिना अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको छ । जजिराले तीन हजार ३४, फ्लाई दुबईले एक हजार १३२, थाई एयर एसियाले चार सय ४७, कतारले ९३ र नेपाल एयरलायन्सले ३९ यात्रु बोकेका थिए ।












