काठमाडौं।नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा बढ्न सक्ने विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।
मंगलबार बसेको प्राधिकरणको बैठकले हिउँदमा विद्युत्को माग, उपलब्ध आपूर्ति तथा सम्भावित चुनौतीबारे आवश्यक अध्ययन गरी पूर्वतयारी अघि बढाउने निर्णय गरेको हो।
रसुवा हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेर उत्पादन बन्द भएपछि आगामी हिउँदको आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित नुवाकोट र रसुवा क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न वैकल्पिक व्यवस्था अध्ययन गर्ने निर्णय गरेको छ।
त्यस्तै, काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन र वितरण आयोजनाको काम तोकिएको समयमै सम्पन्न गर्न आवश्यक समन्वय र तयारी गर्ने निर्णयसमेत बैठकले गरेको छ।
प्राधिकरणका अनुसार हालको अवस्थाको अध्ययन र आवश्यक व्यवस्थापनपछि आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताइएको छ।
हिउँदमा नदीमा पानीको बहाव घट्दा जलविद्युत् उत्पादन स्वाभाविक रूपमा कम हुने भएकाले माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्राधिकरणले वैकल्पिक स्रोत, प्रसारण तथा वितरण संरचनाको क्षमता र प्रभावित आयोजनाको अवस्थालाई समेत अध्ययन गर्ने जनाएको छ।


