एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध सहज जित – Sagarmathapana:: Online News Portal

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध सहज जित

   २०८१ मंसिर १५ गते  

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए ।

जनकपुरको जितमा मिलान्थाले अविजित ७५ रन बनाए । उनले ५३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । मिलान्थासँगै अविजित रहेका थाकेरले ३३ बलमा दुई चौकासहित २९ रन बनाए ।

१५–२ को नाजुक स्थितिबाट यी दुईले तेस्रो विकेटका निम्ति ११६ रनको शतकीय साझेदारी गर्दै जनकपुरलाई जितसम्म डोहोर्‍याए ।

जनकपुरले ओपनर आसिफ शेखलाई शून्य र कप्तान अनिल साहलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । आसिफलाई पहिलो ओभरको चौथो बलमा क्रिस सोलले बोल्ड गरे । अनिल दोस्रो ओभरको अन्तिम बलमा प्रतिश जिसीबाट बोल्ड नै भए ।

जनकपुरविरुद्ध विराटनगर ब्याटिङ र बलिङ दुवैमा फितलो देखियो । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक विकेट लिए ।

पहिलो इनिङ : गप्टिलको अर्धशतक 
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

विराटनगरका ओपनर गप्टिलले ५५ रन बनाए । एनपीएलमा अर्धशतक बनाउने पहिलो ब्याटर बनेका गप्टिलले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे । अकिब इल्सासले १५ रन थपे ।

यसबाहेक विराटनगरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका निकोलस किर्टोनले नौ, बसिर अहमेद, कप्तान सन्दीप लामिछाने र अनिल खरेल समान सात रन बनाए । क्रिस सोलले चार, प्रतिश जिसीले दुई, राजेश पुलामी एक रनमै पभेलियन फर्किए । विराटनगरका जितेन्द्र मुखिया गोल्डेन डक भए ।

विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २८ रन खर्चिए । किशोर महतो र हर्ष थाकेरले समान दुई विकेट लिए । मोहमद मोहसिन र बेन माइकको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा सोमबार (भोलि) दुई खेल हुनेछन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै