पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दियो उच्च अदालतले जमानत
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद उच्च अदालतले तोशाखाना मुद्दामा जमानत दिएको छ।अदालतले आफ्नो आदेशमा अभियुक्त अन्य कुनै मुद्दामा वान्टेड नभएको खण्डमा रिहा गर्न भनेको छ ।
बुधवार इस्लामाबाद उच्च अदालतका न्यायाधीश मियाँ गुल औरंगजेबले इमरान खानलाई जमानत दिने क्रममा उनलाई बन्डको रकम तिर्न पनि आदेश दिएका थिए।
यसअघि इस्लामावाद उच्च अदालतले इमरान खानकी पत्नी बुशरा बीबीलाई पनि सोही मुद्दामा जमानतमा रिहा गरेको थियो ।
तर, यस मुद्दामा जमानत पाएपछि पनि इमरान खान जेलबाट रिहा भएका छैनन् ।यदि लाहोरको अदालतले नोभेम्बर ३० मा भएको सुनुवाईमा इमरान खानलाई जमानत दिन्छ भने उनी जेलबाट रिहा हुन सक्छन्।
इमरानको पार्टी पीटीआईका अनुसार इमरान खानलाई दुई दर्जनभन्दा बढी मुद्दामा जमानत दिइएको छ । यसबाहेक उनको नाम अन्य केही मुद्दामा पनि जोडिएको छ ।












