५ दिन थुनामा राखेर अनुसन्धान गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतको अनुमति
काठमाडौं- काठमाडौँ जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले अनुमति दिएको छ ।
प्रसाईंलाई म्याद थपका लागि अदालतमा आज उपस्थित गराइएको थियो । प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभ लगायत आधा दर्जन कसूरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध सीआईबीले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसूरमा अनुसन्धान थालेको हो ।
प्रहरीले प्रसाईंसँग जोडिएका आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
प्रसाईंले साइबर अपराधसम्बन्धी कानूनको बर्खिलाप गएर प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट सीआईबीले हिजो पक्राउ गरेको थियो ।












