सडकमा गुड्ने चारपाङ्ग्रे ट्याक्सी पनि अब उड्ने – Sagarmathapana:: Online News Portal

सडकमा गुड्ने चारपाङ्ग्रे ट्याक्सी पनि अब उड्ने

   २०८१ मंसिर ५ गते  

काठमाडौं । दुबईले आकाशमा उड्ने ट्याक्सीको सुरुवात गरेर भविष्यको यातायात प्रणालीतर्फ एक ठूलो कदम चाल्ने प्रयास गरेको छ । सन् २०२६ को सुरुवातदेखि नै दुबईका आकाशमा विद्युतीय एयर ट्याक्सीहरू उड्ने छन् ।

अपत्यारिलो लाग्ने यो कुरालाई दुबईले बास्तविकतामा बदलेको छ ।सडकमा गुड्ने चारपाङ्ग्रे ट्याक्सी पनि अब उड्ने छन् । झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । अब, ट्याक्सीले सडकमा मात्र होइन, आकाशमा पनि सेवा दिनेछ ।

यसलाई यातायातका क्षेत्रमा एक क्रान्तिकारी परिवर्तनका रुपमा हेरिएको छ । यसरी उड्ने ट्याक्सीहरु तयार भइसकेका छन् । एयर ट्याक्सीहरू जसलाई इलेक्ट्रिक वर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ (भख्त्इी) भनिन्छ । यिनीहरु विद्युतीय शक्तिबाट चल्छन्।

यी विमान रुपी ट्याक्सीहरू सडकको सट्टा आकाशमार्ग प्रयोग गर्नेछन्। विशेष रूपमा डिजाइन गरिएका भर्टिपोर्टहरूबाट उडान भर्ने र अवतरण गर्नेछन् । सामान्यतः दुईदेखि चार यात्रु राख्न सक्ने क्षमता यसमा रहने छ भने २०० देखि ३०० किमि प्रति घण्टाको गतिमा यिनीहरु उड्ने छन् ।

छोटो दुरीका यात्रालाई ट्राफिक जामविनाको सुविधा दिने यसको लक्ष्य रहेको छ। यद्यपि प्रारम्भमा यो सेवा महँगो हुने र सर्वसाधारणको पहुँचमा नरहन सक्ने सम्भावना रहेको छ । यसको अनुमतिको प्रक्रिया सुरु भइसकेको छ ।

दुबईस्थित पब्लिक ट्रान्सपोर्ट एजेन्सीका प्रमुखकार्यकारी अहमद बहरोजयानका अनुशार सुरुवातमा चार स्थानमा पर्यटकलाई केन्द्रमा राखेर संचालन गरिनेछ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल, पाम जुमेराह, डाउनटाउन दुबई र दुबई मरीनाबाट सुरुवातमा स्थानीय बासिन्दा र पर्यटकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको छ।

यात्रुहरूले जोबी एभिएसनको मोबाइल एपमार्फत सजिलै एयर ट्याक्सी बुक गर्न सक्नेछन् । विज्ञहरू भन्छन् कि यसको सुरुवातपछि मानिसहरूले इमिरेट्स पुग्न एयर ट्याक्सी प्रयोग गरेमा ४० प्रतिशत समयको वचत गर्नेछन् ।

एयर ट्याक्सीहरूले सडक यातायातको तुलनामा निकै छिटो यात्रा गर्न सक्नेछन् । विशेषगरी जाम भएको बेला यो निक्कै फाइदाजनक हुने भनिएको छ । यस्तै विद्युतीय शक्तिबाट चल्ने भएकाले यी ट्याक्सीहरूले प्रदूषण कम गर्नेछन् ।

यद्यपि एयर ट्याक्सीहरूको सुरक्षित र भरपर्दो सञ्चालनका लागि अत्याधुनिक प्रविधि र नियन्त्रण प्रणाली आवश्यक पर्ने र खराब मौसमले उडानलाई प्रभाव पार्न सक्ने आशंका गरिएको छ । एयर ट्याक्सी सेवाको लागत अझै स्पष्ट भएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै