पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं -पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो ।

पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण पुगेका थिए ।
अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकोमा विहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
ढुङ्गानाको योगदानको सम्मान गर्दै सरकारले सार्वजनिक बिदासमेत दिएको थियो । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।














