रवि लामिछाने र छविलाल जोशी बयानका लागि काठमाडौं – Sagarmathapana:: Online News Portal

रवि लामिछाने र छविलाल जोशी बयानका लागि काठमाडौं

   २०८१ मंसिर ४ गते  

काठमाण्डौ ।हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरु पनि बयानका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं लगिएको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाडौं झिकाइएको हो ।जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको हो ।

परिसर स्रोतका अनुसार उनको बयान अन्तिम चरणमा पुगेकाले आज÷भोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको छ । रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए । रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ ।

रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने प्रहरीको तयारी छ । आइतबार काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छवीविरुद्ध पक्राउ पूर्जी जारी गरेका थिए ।

सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् । काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको सहकारी छानविन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको भनिएको छ । सोही घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका आफ्ना सभापतिलाई हिरासतमुक्त गरेर अनुशन्धान गर्नुपर्ने मागसहित आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै