महागुरु फाल्गुनन्दको जन्मजयन्ती आज कोशी प्रदेशमा सार्वजनिक बिदा
काठमाण्डौ –किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा योगदान गर्नु हुने किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९४२ साल कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।
समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । जसमा छोरीको विवाह गर्दा पैसा लिन नहुने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष समेटिएका छन् ।

किराँती समुदायको बसोबास रहेको पूर्वी क्षेत्र ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतका जिल्लामा फाल्गुनन्द जयन्ती धुमधामका साथ मनाउने गरिन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । उहाँको योगदानको कदर गर्दै सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।












