फोटो सेसन, घुमघाम र चुम्माचुम्बी -आन्दोलनमै केन्द्रित हुन निर्देशन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरका कार्यकर्तालाई पोखरा झिकाएको थियो। शनिबारदेखि नै उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्।
रवि लामिछानेको रिहाइकोआन्दोलनका लागि पोखरा पुगेका नेता तथा कार्यकर्ताले आन्दोलनमा भन्दा फोटो सेसन, घुमघाम र सांसदहरूले एकअर्काबीच चुम्माचुम्बी गर्न थालेपछि रास्वपाले आन्दोलनमा केन्द्रित हुन निर्देशन दिएको हो। लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले पाएको म्याद आज सकिँदै छ।
आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो। तर, लामिछाने शुक्रबारै पक्राउ परेकाले आज म्याद सकिन लागेको हो।
रवि निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने माग गर्दै रास्वपा समर्थकहरूको आन्दोलन भने आज पनि जारी रहनेछ। आज पोखराको सिर्जनाचोकमा प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ। पोखरामा भेला भएका कार्यकर्ताहरूलाई यताउता नगई आन्दोलनमै केन्द्रित हुन निर्देशन दिइएको छ।

लामिछानेलाई म्याद थपका लागि भोलि अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। भोलि रविलाई अदालतमा पेस गर्ने भएपछि रास्वपा झनै जोडका साथ आन्दोलन गर्ने तयारीमा छ।
सहकारीको रकम अपचलनबारे छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिले सहकारीको रकम गोर्खा मिडियामा ल्याउनमा प्रत्यक्ष भूमिका नदेखिएको तर सो रकमको सञ्चालनमा अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो। तर, अदालतले भने सहकारी ठगीमै अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी जारी गरेको थियो।
गोरखा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशीको हिजो मात्रै बुटवलमा १३ घण्टा बयान भएको थियो। लामिछानेलाई पनि सहकारीको रकम अपचलन भएका पोखरासहित बुटवल, चितवन र काठमाडौंमा समेत अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।












