बंगलादेशले लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने
काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरेका हुन् ।
नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्दै यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताउनुभयो । ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ उनले भने ।
बंगलादेशले सामाजिक क्षेत्र र आर्थिक क्षेत्रलाई सँगसँगै अघि बढाएका कारण अर्थतन्त्रलाई गतिशील बनाउन सकेको उदाहरण दिए । ‘बंगलादेश महिलाहरू र साना व्यवसायमा केन्द्रित हुँदा दीगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भयो,’ उनले भने ।
भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो संभावना रहेको र त्यसमा बंगलादेशी लगानीकर्ता आकर्षित हुन सक्ने बताउनुभयो । बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्दै उहाँले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालाबाट विद्युत निर्यात एउटा महत्वपूर्ण विकल्प हुने उल्लेख गरे ।
परिसंघका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बंगलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसंघ तयार रहेको बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बंगलादेशलाई आग्रह गरे ।












