सहकारीकै ठगी प्रकरणमा जोडिएका धनराज गुरुङ र ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपर्ने आवाज
काठमाडौं, सहकारीको वचत रकम अपचलनमा सम्लग्न भएको आरोपसहित संगठित अपराधको मुद्दा लगाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी पक्राउ गरेपछि सहकारीकै ठगी प्रकरणमा जोडिएका भनिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपर्ने आवाज उठेको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका हुन् ।
पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने, तर गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताएका छन् ।
उनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । राज्यका निकायले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।
‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस् ।
प्रधानमन्त्रीको पार्टीका सांसद पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’
उनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । ‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलोचाँडो दिनैपर्छ।’
जतिसुकै बलशाली मानिस भए पनि लोकतन्त्रमा प्रश्न र कानूनभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ थियो । उनले रास्वपा सभापति लामिछनेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । लामिछाने सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको भन्दै दोस्रोपटक समेत भारी मतले विजयी भएको नबिर्सन उनले औंल्याए ।
‘कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न पाइँदैन । उसले आफ्नो कुरा भन्न पाउँछ । अनुशन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ, त्यो स्थापित हुन्छ, त्यो समाजले मान्नुपर्छ । कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने, कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन्’, पुनले भने, रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो ।
त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो । फेरि नागरिकता प्रकरणमा सांसद पद गयो । फेरि दोस्रो पटक चुनावमा जाँदा भारी मतले जित्नुभयो । जनताले उहाँलाई अनुमोदन गरेर पठाए । त्यसैले रविजीले अनुशन्धानाई सहयोग गर्नुपर्छ ।’
ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिना प्रकरणमा प्रत्यक्ष जोडिएका सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङ राजनीतिक पहुँचले जोगिँदै आएका छन् । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पनि उनलाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो ।












