सिनेमा रिलिजका लागि हलको विकल्प खोज्ने- निर्देशक निश्चल बस्नेत – Sagarmathapana:: Online News Portal

सिनेमा रिलिजका लागि हलको विकल्प खोज्ने- निर्देशक निश्चल बस्नेत

   २०८१ आश्विन २९ गते  

काठमाडौं । बेहुली फ्रम मेघौली’मा राम्रो अकुपेन्सी हुँदाहुँदै पनि हिन्दी सिनेमा आएपछि शो घटाएको भन्दै निर्देशक निश्चल बस्नेतले सिनेमा रिलिजका लागि हलको विकल्प खोज्ने चेतावनी दिएका छन् ।

राम्रो चलचित्र आउँदा पनि हिन्दी सिनेमा प्राथमिकतामा परेपछि हलको विकल्प खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

अहिले जुन हिन्दी चलचित्र आएको छ, त्यसको सुरुदेखि नै चर्चा छैन । दर्शक छैनन्, “अनलाइनमा हेर्दा नै देखिन्छ, कुनमा कति अकुपेन्सी छ भन्ने । हिन्दीमा भन्दा हाम्रो सिनेमामा धेरै दर्शक छन् भने किन उसलाई बढी शो दिइयो ?”

कति हलमा ‘बेहुली फ्रम मेघौली’ उतारिसकिएको र केही हलमा एउटा शो मात्रै राखिएको उनले बताए ।

“अरु नयाँ सिनेमा आएपछि शो घट्छ हामीलाई पनि थाहा छ । तर दर्शक नै नभएको सिनेमालाई शो दिने, भएकालाई नदिने गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो,” उनी भन्छन्, “बिदा हुन्जेल दर्शक नभएको हिन्दी सिनेमालाई शो दिने हलले अब बिदा सकिएपछि सायद भोलिबाट हाम्रो सिनेमाको शो बढाउँछन् ।”

राम्रो चलचित्र नहुँदा नेपाली सिनेमा राम्रो भएनन् भन्ने तर राम्रो चलचित्र हुँदा पनि शो नदिने हो भने हलमा सिनेमा रिलिज गर्नुको अर्थ नहुने उनको भनाइ छ ।

“सिनेमा राम्रो छ भन्ने प्रतिक्रया आएको छ । समीक्षा पनि राम्रो छ, हलमा अकुपेन्सी राम्रो छ भन्ने हलमै देखिरहेको छ,” निश्चल भन्छन्, “तर पनि मेरिट र डिमेरिटका आधारमा शो नदिने हो भने सात/आठ लाख कलेक्सन गर्नका लागि साढे दुई/तीन करोड लगानी गरेर किन चलचित्र बनाउने ?

अब हलको विकल्पबारे आफूले सोचिरहेको निश्चल बताउँछन् । ओटीटीतर्फ जानेबारे आफूले छलफल गरिरहेको उनले जानकारी दिए ।

“सम्भवतः अब दुई/तीन दिनभित्रै हलबाट उतारेर ओटीटीमा रिलिज गर्छु होला, यसबारे छलफल गरिरहेको छु,” निश्चल भन्छन्, “अब नयाँ सिनेमा बनाउँदा पनि ओटीटीलाई प्राथमिकता दिएर रिलिज गर्छु । यसका लागि भरपर्दो ओटीटी चाहिन्छ । अब यसतर्फ हामी अगाडि बढ्नुपर्छ ।”

गतवर्ष निश्चलको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’ प्रदर्शन हुँदा हलले ५० प्रतिशत सेयर नदिए सिनेमा नै उतार्ने चेतावनी दिएपछि प्रदर्शकहरू निर्मातालाई ५० प्रतिशत सेयर दिन तयार भएका थिए । अहिले निर्माताले रिलिज भएको दिनदेखि सिनेमा नउत्रिदासम्म ५० प्रतिशत सेयर पाउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै