बिदेशी पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीकाजमरा थाप्दै दसैँ मनाए
काठमाण्डौ – चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दसैँ मनाएका छन् ।
नेपालीहरुको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

मोटरसाइकलमा नेपालका विभिन्न ठाँउमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए । “नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ”, फ्रान्सेली नागरिक ह्यारी टोमाले भन्नुभयो, “नेपालीहरुका साथमा दसैँ मनाउन पाउँँदा खुसी छु ।”
नेदरल्याण्डस्देखि सौराहा घुम्न आउनुभएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दसैँ मनाउन पाउँदा औधी खुशी देखिन्थे । “मैले अरु साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाउन पाएँ”, उहाँले भन्नुभयो ।
अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिनुभयो । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछुु”, उहाँले भन्नुभयो । चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरू भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । “हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दसैँमासगैँ राखेर मनाएका थियौँ”, होटल सञ्चालक गिरीले भन्नुभयो ।
पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ ।












