गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक दाबी
काठमाडौं । पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समिति नेपालले मोहियानी हक दाबी गरेको छ ।
तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विसं १९९७ सालमा (८४ वर्ष अगाडि) मारवाडी समाजका रामकुमार मारवाडीलगायतका व्यक्तिहरुलाई बोलाई थारा गाई, साँढे इत्यादीको संरक्षण, हेरचाह गर्न, सेवा कार्यहरु गर्न, पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था नभएको अवस्था मनन गरी गौशाला र धर्मशाला एवं सेवा कार्य गर्न सो जग्गा उपलब्ध गराएको माडवारी सेवा समाजले जनाएको छ ।
गौशाला धर्मशालाको जग्गा मारवाडी समाजलाई उपलब्ध गराईएको पृष्ठभुमीमा त्यसबेलादेखि नै मारवाडी समाजले आफ्नो व्यवसायको केही अंश चन्दा स्वरुप प्रदान गरी पशुपति गौशाला धर्मशालाको निर्माण गर्दै गाई गोठ तथा आफ्ना पूर्वजहरुको स्मृतिमा कोठा, हल, मन्दिर निमार्ण गर्ने कार्य भएको बताइएको छ ।
साथै, पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ गते एकतर्फी निर्णय गरी सम्झौता भंग गरेको भन्दै माडवारी सेवा समाजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पशुपति विकास कोषको निर्णयलाई सदर गरेपनि पुनरावेदन जान पाउने म्याद रहँदै हटाउने प्रयास भइरहेको बताइएको छ ।












