EN
मेनु
Flash News

पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढ्दै, तराईमा तुवाँलो लाग्ने सम्भावना

काठमाडौं।मंसिर महिनासँगै देशभर चिसो बढ्न थालेको छ। आज बुधबार पनि देशका विभिन्न प्रदेशमा मौसममा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ। बागमती प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका केही स्थानमा बिहानको समयमा तुवाँलो लाग्न सक्ने सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने अनुमान छ।

काठमाडौं र ललितपुरमा आज अधिकतम तापक्रम करिब २० डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि १० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै बिहान तथा रातिको समयमा न्यानो कपडा प्रयोग गर्न र हिमाली क्षेत्रमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।