EN
मेनु
Flash News

उपत्यकामा मासु परीक्षण अभियान सुरु, स्वस्थ मासुमा सरकारी छाप अनिवार्य गर्ने तयारी

काठमाडौं।काठमाडौं उपत्यकामा बिक्री वितरण हुने मासुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन सुरु गरेको छ। मन्त्रालयले पहिलो चरणमा कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने अभियान सञ्चालन गरेको हो।

२०८३ मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा ऐन कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन गरी कार्यान्वयनमा ल्याउनुभएको हो। मन्त्री चौधरीले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मासुजन्य खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न ऐन प्रभावकारी रूपमा लागू गरिएको बताउनुभयो।

उहाँले उपभोक्ताले बजारबाट खरिद गर्ने मासु स्वस्थ, स्वच्छ र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै ऐनको कार्यान्वयनलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो।

मासुको गुणस्तर परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने व्यवस्थाले उपभोक्तालाई सुरक्षित मासु छनोट गर्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ। साथै, अस्वस्थ मासुको बिक्री वितरण रोक्न र मासु व्यवसायलाई व्यवस्थित बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था गरिएको छ। मासु बिक्री केन्द्र, बधस्थल तथा सम्बन्धित व्यवसायमा आवश्यक मापदण्ड पालना भए/नभएको विषयमा निगरानी गरिनेछ।

उपत्यकाबाट सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै मासुजन्य खाद्य पदार्थको गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ।