EN
मेनु
Flash News

प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. अमितसिंह कार्की मनोनीत

काठमाडौं।नेपाली कांग्रेसले प्रजातन्त्रवादी चिकित्सक संघको केन्द्रीय अध्यक्षमा धादिङका चिकित्सक डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले कार्कीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।

कार्तिक १९, २०८३ मा जारी मनोनयन पत्रअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम कार्कीलाई अध्यक्षमा मनोनयन गरिएको हो।

मनोनयन पत्रमा पार्टीका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै आगामी छ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। साथै, संगठनलाई थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

नवनियुक्त अध्यक्ष कार्कीका सामु चिकित्सकहरूबीच एकता र सहकार्यको वातावरण निर्माण गर्ने, संगठनलाई चलायमान बनाउने तथा निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी रहेको छ।

चिकित्सा पेसासँगै सामाजिक सेवामा समेत सक्रिय कार्कीलाई सहकर्मी तथा शुभेच्छुकहरूले निडर, सक्षम र सेवाभावी व्यक्तित्वका रूपमा चित्रण गर्दै आएका छन्। ठूलालाई आदर र सानालाई माया गर्ने तथा दुःख र समस्यामा परेकाहरूको सेवामा तत्पर रहने उनको स्वभावको प्रशंसा हुने गरेको छ।

प्रजातन्त्रवादी चिकित्सक संघ नेपाली कांग्रेसनिकट चिकित्सकहरूको संगठन हो। चिकित्सकहरूको पेशागत हकहितको संरक्षण, स्वास्थ्य क्षेत्रका नीतिगत तथा समसामयिक विषयमा पैरवी र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धन यसका प्रमुख उद्देश्य हुन्।

डा. कार्कीको नेतृत्वमा संघले संगठनात्मक एकतालाई थप मजबुत बनाउँदै चिकित्सकका पेशागत समस्या र स्वास्थ्य क्षेत्रका समसामयिक सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु उनको नेतृत्वको पहिलो महत्त्वपूर्ण अग्निपरीक्षा हुनेछ।