EN
मेनु
Flash News

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविले माग्यो ‘कन्ट्री फोकल पर्सन’

काठमाडौं।त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउन विभिन्न देशका लागि ‘कन्ट्री फोकल पर्सन’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र (CIR) ले ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आवेदन आह्वान गरेको हो।

त्रिविका उपकुलपतिबाट नियुक्त हुने कन्ट्री फोकल पर्सनको पद स्वयंसेवी तथा मानार्थ रहनेछ। यसको प्रारम्भिक कार्यकाल दुई वर्षको हुने व्यवस्था गरिएको छ।

नियुक्त हुने प्राध्यापकले सम्बन्धित देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य विस्तार गर्ने, यसअघि भएका समझदारीपत्र (MoU) लाई सक्रिय बनाउने र संयुक्त अनुसन्धानका कार्यक्रम अघि बढाउने जिम्मेवारी पाउनेछन्।

त्यस्तै, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, अनुसन्धानका लागि अन्तर्राष्ट्रिय आर्थिक स्रोतको खोजी र विदेशी विद्यार्थीलाई त्रिविमा अध्ययनका लागि आकर्षित गर्ने काममा समेत उनीहरूले समन्वय गर्नुपर्नेछ।

त्रिविका अनुसार इच्छुक स्थायी प्राध्यापकले आगामी मंसिर १० गते अर्थात् २५ नोभेम्बर २०२६ भित्र अनलाइन गुगल फारममार्फत आवेदन दिन सक्नेछन्।

आवेदनसँगै आवेदकले आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरणसहितको बायोडाटा (CV) र आगामी दुई वर्षमा गर्न सकिने काम समेटिएको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ।

प्राप्त आवेदनमध्ये अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशका शैक्षिक संस्थासँगको पूर्वसम्पर्क तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा उपयुक्त उम्मेदवार छनोट गरिने त्रिविले जनाएको छ।

यस पहलबाट त्रिविको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउनुका साथै विदेशी विश्वविद्यालयसँग अनुसन्धान, शैक्षिक आदानप्रदान र संस्थागत साझेदारीका नयाँ अवसर विस्तार हुने अपेक्षा गरिएको छ।