काठमाडौं।नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकलाई उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।
अर्थमन्त्री वाग्लेले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना तथा मझौला उद्यममा लगानी बढाउनुपर्नेमा जोड दिए। बैंकिङ क्षेत्रको सफलता कर्जा प्रवाहको परिमाणबाट मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्याएको योगदानका आधारमा मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो।
उनले बैंकको दिगो विकासका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र खराब कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए। बदलिँदो प्रविधिसँगै बैंकिङ सेवालाई थप प्रविधिमैत्री र सहज बनाउनुपर्नेमा पनि उनले जोड दिए।
डिजिटल बैंकिङ सेवाको विस्तारसँगै साइबर सुरक्षा र ग्राहकको तथ्यांक संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो। साथै, ग्रामीण क्षेत्रका नागरिक तथा साना उद्यमीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
नेपालको बैंकिङ इतिहासमा महत्वपूर्ण स्थान राख्दै आएको नेपाल बैंक लिमिटेडले आगामी दिनमा उत्पादनशील क्षेत्रको वित्तपोषण, वित्तीय पहुँच विस्तार र आर्थिक विकासमा थप योगदान पुर्याउनुपर्नेमा समारोहमा जोड दिइएको छ।







