काठमाडौं।मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ चेकपोइन्टबाट प्रहरीले ६ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले गएराति करिब १ः४५ बजे सवारीसाधन जाँच गर्ने क्रममा चरेस बरामद गरेको हो।
प्रहरीका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको एसयूभी जिपलाई रोकेर जाँच गर्दा चरेस फेला परेको थियो।
गाडीको पछाडिको डिकीमा राखिएको कालो रङको लगेज ब्यागभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा बेरिएका पाँच पोका चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–३, सञ्जिवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने ३३ वर्षीय गाडी चालक हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।
बरामद चरेस र पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।







