EN
मेनु
Flash News

रिवास राईलाई रजतसहित ‘डायमन्ड अफ द टिम’ अवार्ड, नेपाललाई चार पदक

काठमाडौं।रुसमा आयोजित पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाड (OWAO 2026) मा नेपाली विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै चार पदक जितेका छन्। नोभेम्बर ६ देखि १४ सम्म रुसको सिरियसमा सम्पन्न प्रतियोगितामा नेपाली विद्यार्थीले एक रजत र तीन कांस्य पदक हासिल गरेका हुन्।

प्रतियोगितामा रिवास राईले रजत पदक जित्दा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरेका छन्। रजत पदक विजेता राईले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत ‘डायमन्ड अफ द टिम’ अवार्डसमेत हात पारेका छन्।

यो उपलब्धिसँगै अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलोपटक रजत पदक जित्न सफल भएका छन्। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको खगोल विज्ञान क्षेत्रको उपलब्धिलाई थप उचाइ दिएको छ।

यस सफलतासँगै अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालको कुल पदक संख्या १० पुगेको छ। नेपालले हालसम्म एक स्वर्ण, एक रजत र आठ कांस्य पदक जितिसकेको छ।

नेपाली विद्यार्थीको यस उपलब्धिलाई विज्ञान तथा शैक्षिक क्षेत्रमा नेपालको बढ्दो क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली प्रतिभाको सशक्त उपस्थितिका रूपमा हेरिएको छ।