काठमाडौँ।आस्था, श्रद्धा र निष्ठाको महान् पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिपूर्वक सम्पन्न भएको छ।
शुक्रबारदेखि सुरु भएको चारदिने छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू पूजा सामग्रीसहित नदी, तलाउ तथा पोखरीका किनारमा भेला भएका थिए। उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।

काठमाडौँको कमलपोखरीलगायत देशका विभिन्न जलाशय तथा नदी किनारमा छठ मनाउने श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। तराई–मधेशसहित देशका विभिन्न स्थानमा समेत छठ पर्व हर्षोल्लास र भक्तिभावका साथ मनाइएको छ।
छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वलाई प्रकृति, आस्था र पारिवारिक कल्याणसँग जोडिएको महत्वपूर्ण धार्मिक पर्वका रूपमा लिइन्छ।
छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म चलेको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ।







