EN
मेनु
Flash News

डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

विराटनगर।दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो।

सर्लाही निवासी ४५ वर्षीय शर्मालाई पक्राउ गरी आज सार्वजनिक गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको भन्ने उजुरीका आधारमा शर्मा पक्राउ परेका हुन्।

ब्युरोको प्रारम्भिक अनुसन्धानअनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीले पूर्वयोजनाअनुसार आपसी मिलेमतो गरी विभिन्न समूह बनाएर संगठित सञ्जालमार्फत आर्थिक अनियमितता गरेको देखिएको छ।

उक्त अनियमितताका कारण संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको र सोही रकम गैरकानुनी रूपमा लाभका रूपमा लिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए।

ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर शर्मालाई नियन्त्रणमा लिइएको हो। यसअघि नै प्रहरीले यस प्रकरणमा अनुसन्धानका लागि आठ जनालाई पक्राउ गरिसकेको छ। शर्माको पक्राउसँगै डीडीसीको आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान थप अघि बढेको छ।