‘कुङ्फु नन’ ड्रुक्पा भिक्षुणीसहित विभिन्न देशका धर्मगुरुद्वारा सामूहिक प्रार्थना
काठमाडौं।काठमाडौंको नागार्जुनस्थित ह्वाइट गुम्बामा जारी ११औँ वार्षिक ड्रुक्पा काउन्सिलमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिएको छ ।
सम्मेलनमा सहभागी विभिन्न देशका बौद्ध धर्मगुरु, ‘कुङ्फु नन’का रूपमा परिचित ड्रुक्पा भिक्षुणी तथा अन्य सहभागीहरूले दीप प्रज्वलन गर्दै विश्वभर शान्ति, सद्भाव र करुणाको कामना गरेका हुन् ।
सम्मेलनमा भियतनाम, मलेसिया, सिंगापुर, ताइवान, इन्डोनेसिया, हङकङलगायत १० देशका बौद्ध धर्मगुरु तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
सामूहिक प्रार्थनाका क्रममा नेपालका रसुवा र नुवाकोटमा बाढीपहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो । साथै, विपद्का कारण बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि पनि प्रार्थना गरिएको आयोजकले जनाएको छ ।
नोभेम्बर १३ देखि १७ तारिखसम्म पाँच दिन आयोजना हुने सम्मेलनमा बौद्ध दर्शन, आध्यात्मिक अभ्यास, शान्ति, करुणा र विश्वव्यापी सद्भावका विषयमा छलफल तथा विभिन्न धार्मिक गतिविधि सञ्चालन भइरहेका छन् ।
सम्मेलनले विभिन्न देशका बौद्ध समुदायबीच आपसी सम्बन्ध, सहकार्य र आध्यात्मिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।








