EN
मेनु
Flash News

दरबारमार्गमा ८ अर्ब लगानीमा नयाँ होटल र मल बन्दै, अन्नपूर्ण स्क्वायरको नक्सा पास अन्तिम चरणमा


काठमाडौं।दरबारमार्गस्थित ऐतिहासिक होटल डेला अन्नपूर्णको स्थानमा ८ अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक होटल र सपिङ मल निर्माण हुने भएको छ। लामो समयदेखि नक्सा पासको प्रक्रियामा रोकिएको अन्नपूर्ण स्क्वायर परियोजना अब अघि बढ्ने संकेत देखिएको छ।

योजनाअनुसार पुरानो संरचना हटाएर १९ तलाका दुई टावर निर्माण गरिनेछ। एउटा टावरमा होटल र अर्कोमा सपिङ मल तथा कार्यालय सञ्चालन गर्ने योजना छ। होटलमा ४०० बेडको क्षमता रहनेछ भने भाटभटेनी समूहले आफ्नो फ्ल्यागसिप सुपरमार्केटसमेत सञ्चालन गर्नेछ।

परियोजनामा भाटभटेनी समूहको ६० प्रतिशत, उमेश श्रेष्ठ समूहको २५ प्रतिशत र होटल डेला अन्नपूर्णको १५ प्रतिशत स्वामित्व रहनेछ। नयाँ कम्पनी अन्नपूर्ण स्क्वायरले होटल डेला अन्नपूर्णसँग ३५ वर्षको लिज सम्झौता गरेको छ। होटल सञ्चालनको व्यवस्थापन भारतीय ब्रान्ड आईटीसी वेलकम होटल समूहले गर्ने सहमति भएको छ।

नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षाको कारण देखाउँदै सुरुमा प्रस्तावित २६ तले भवनमा आपत्ति जनाएपछि डिजाइन परिवर्तन गरी १९ तलाका दुई टावर बनाउने प्रस्ताव अघि सारिएको हो।

काठमाडौं महानगरपालिकाबाट विस्तृत संरचनाको डिजाइन स्वीकृत नहुँदा करिब साढे दुई वर्षदेखि निर्माण प्रक्रिया रोकिएको थियो। यस विषयमा प्रधानमन्त्री बालेन शाहले समेत चासो देखाएपछि महानगरसँग समन्वय अघि बढेको लगानीकर्ता उमेश श्रेष्ठले बताएका छन्।

उनका अनुसार अब एक साताभित्र नक्सा पासको प्रक्रिया पूरा हुने अपेक्षा छ। त्यसपछि साढे दुईदेखि तीन वर्षभित्र होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सन् १९६० को दशकमा स्थापना भएको होटल डेला अन्नपूर्ण नेपालको पुरानो र प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो। राजा महेन्द्रको पालामा विदेशी पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस होटलले पाँच दशकभन्दा बढी समय नेपालको पर्यटन, कूटनीति र सामाजिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको थियो। कोरोना महामारीपछि बन्द रहेको होटलको स्थानमा अब नयाँ व्यावसायिक संरचना बन्न लागेको हो।