अन्ताल्या(टर्किए)।कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् ।
जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तर्राष्ट्रियस्तरमा उठाउने उद्देश्यले मन्त्री चौधरीले शेर्पा समुदायको परम्परागत पोशाक लगाएर सम्मेलनमा सहभागिता जनाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री चौधरीको यस पहिरनले नेपालको हिमाली सभ्यता, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै पर्वतीय क्षेत्र संरक्षणको आवश्यकताबारे विश्वको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।
विशेषगरी जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा बढ्दै गएका प्राकृतिक विपद् तथा हालैको भोटेकोशी विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन यसले सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।
मन्त्री चौधरी कोप–३१ सम्मेलनमा सहभागी हुन आज टर्किएको अन्ताल्या पुगेकी हुन् ।







