EN
मेनु
Flash News

गाईपूजाको धार्मिक महत्व, वैतरणी नदी तार्ने विश्वासदेखि गौमाताको सम्मानसम्म

काठमाडौं।यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज हिन्दू धर्मावलम्बीले गाईको पूजा आराधना गरी मनाउँदैछन् । गाईलाई गौमाताका रूपमा सम्मान गर्दै फूलमाला लगाउने, टीका चन्दन गर्ने र मिठा परिकार खुवाउने धार्मिक परम्परा छ ।

हिन्दू धर्मशास्त्रमा गाईलाई पवित्र र पूजनीय प्राणीका रूपमा व्याख्या गरिएको छ । गाईबाट प्राप्त हुने दूध, गोबर र गहुँत धार्मिक कार्यदेखि दैनिक जीवनसम्म उपयोगी मानिने भएकाले यसको विशेष महत्व रहेको छ । गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने धार्मिक तथा सांस्कृतिक विश्वाससमेत रहिआएको छ ।

परम्पराअनुसार गाईको विधिपूर्वक पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि नेपालका विभिन्न स्थान र समुदायमा गाईपूजा गर्ने दिनमा केही भिन्नता पाइन्छ । कतिपय स्थानमा कात्तिक कृष्ण औँसीकै दिन पूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको समाप्ति र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ ।

गाईदानलाई पनि हिन्दू धर्ममा महत्वपूर्ण धार्मिक कर्म मानिन्छ । तर पछिल्लो समय गाई उपलब्ध नहुँदा सङ्कल्प गरेर रकम राख्ने प्रचलन बढेको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् ।

गाई नेपालको राष्ट्रिय जनावरसमेत हो । धार्मिक मान्यताअनुसार साउन शुक्ल पूर्णिमामा हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने विश्वास गरिन्छ । यही धार्मिक आस्थाका कारण तिहारमा गाईपूजालाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।