बेहुली फ्रम मेघौली’ले पहिलो दिन ८० लाखको ओपनिङ – Sagarmathapana:: Online News Portal

बेहुली फ्रम मेघौली’ले पहिलो दिन ८० लाखको ओपनिङ

   २०८१ आश्विन १९ गते  

काठमाडौं।  नेपाली फिल्मको इतिहासमै सर्वाधिक सोज (३४०) पाएको फिल्म बेहुली फ्रम मेघौली’ले पहिलो दिन ८० लाखको ओपनिङ गरेको   छ ।

बिहीबार देशका प्रायः सहरहरूमा फिल्मले बिहानदेखि नै उच्च अकुपेन्सी कायम गरेको थियो ।
शुक्रबार पनि फिल्मको अवस्था राम्रो देखिन्छ । कामकाजी दिन भएकाले बिहानी सोजमा अकुपेन्सी औसत देखिए पनि दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । साँझ ६ बजेपछि काठमाडौंसहित बाहिरका धेरै सहरमा ६० प्रतिशत अकुपेन्सी नाघेको छ । एकाध सोज हाउसफुलको संघारमा पनि छन् । यसरी हेर्दा शुक्रबार फिल्मले २५/३० लाख हाराहारी कमाउन सक्ने देखिन्छ ।

शुक्रबारबाट आएको हलिउड फिल्म ‘जोकर २’ले ‘बेहुली फ्रम मेघौली’लाई ठूलो असर गर्न सक्ने प्रक्षेपण गरिएको थियो । सुपरहिट फिल्मको सिक्वेल भएकाले ‘मेघौली’को दोस्रो दिनै धेरै सोज गुम्न सक्ने खतरा देखिन्थ्यो । तर, नेपालका अधिकांश मल्टीप्लेक्सहरुले दुवै फिल्मलाई लगभग बराबर सोज बाँडफाँड गरेका छन् । अकुपेन्सी दरमा भने ‘जोकर २’भन्दा ‘बेहुली’ नै अगाडि देखिएको छ ।

दुई दिनको प्रदर्शन सुखद् रहेकाले  शनिबार फिल्मको व्यापारमा उछाल आउन सक्ने सम्भावना उच्च छ । आइतबारबाट भने फिल्मको वास्तविक परीक्षा सुरु हुनेछ । किनकि, शनिबारसम्म प्रचार सामाग्री र कलाकारको क्रेजको प्रभाव केही हदसम्म हलमा देखिन्छ । आइतबारबाट दर्शक प्रतिक्रियाले फिल्मको व्यापार निर्धारण गर्छ । ‘बेहुली फ्रम मेघौली’लाई दर्शकले रुचाएकै देखिन्छ ।

यो फिल्मले हलमा राम्रो दर्शक पाइरहँदा पाइरेसीको समस्या पनि भोगिरहेको छ । टिकटकजस्ता प्लेटफर्ममा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकहरुले हालिदिँदा निर्माता मारमा परेका छन् । केहीले त तीन मिनेटसम्मको क्लिप्स टिकटकमा राखिदिएका छन् । यो समस्या यसअघि पनि थुप्रै नेपाली फिल्मले भोगिसकेका छन् । यो गैरकानुनी काम हो भने बोध नै दर्शकमा हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै