EN
मेनु
Flash News

रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी रकम बरामद, दुई जना पक्राउ

रौतहट-रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। भारतबाट मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याउँदै गरेको ३० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका हुन्। उनको बयानका आधारमा गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको एमपी ०५–००१ प ०५७८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा रकम फेला परेको थियो।

मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम पञ्चायत–१३ का ३० वर्षीय सनिकुमार जैसवालले झोला र मोटरसाइकलको ट्यांकीमुनि फल्स बटम बनाएर रकम लुकाएको प्रहरीले जनाएको छ। प्रहरीले रकमसँगै एउटा स्मार्ट मोबाइल फोनसमेत बरामद गरेको छ।

जैसवाललाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई दिन ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त गौतमले बताए।

उनकै बयानका आधारमा प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमान्डमा खटिएको टोलीले न्यु तराई ट्रेडर्समा खानतलासी गरेको थियो। सो क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि ट्रेडर्सका सञ्चालक कमरुललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद रकमको स्रोत, भारतबाट नेपाल भित्र्याउनुको प्रयोजन, रकमको वास्तविक स्वामित्व र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान अघि बढाएको छ।

रकमको स्रोत र कारोबारको उद्देश्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।