EN
मेनु
Flash News

घाइते बालकको निःशुल्क उपचार, उचित क्षतिपूर्ति र दोषीमाथि कारबाही गर्न सिजपको आग्रह

काठमाडौं।बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर एक बालक घाइते भएको घटनाप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। विभिन्न समाचार स्रोतका अनुसार भएको उक्त घटनालाई सिजपले दुःखद, गम्भीर र चिन्ताजनक भन्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।

सिजपले नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यका सुरक्षा निकायको दायित्व भएको उल्लेख गर्दै सुरक्षाकर्मीकै गोली लागेर बालक घाइते हुनु गम्भीर विषय भएको जनाएको छ। राजनीतिक विवाद, प्रदर्शन, झडप तथा हिंसात्मक गतिविधिको असर बालबालिकामाथि पर्न नहुने अभियानको भनाइ छ।

बालबालिकाको जीवन, सुरक्षा, सम्मान र संरक्षणको अधिकार नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले सुनिश्चित गरेको स्मरण गराउँदै सिजपले सार्वजनिक कार्यक्रम तथा भीड व्यवस्थापनमा बालबालिकाको संवेदनशीलतालाई पर्याप्त प्राथमिकता दिइएको छ कि छैन भन्ने प्रश्न उठाएको छ।

अभियानले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी गोली प्रहारमा संलग्न तथा जिम्मेवार व्यक्तिको पहिचान गर्न र दोषी पाइएकालाई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ। साथै, पीडित बालकले न्याय पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सिजपले घाइते बालकको सम्पूर्ण उपचार, मनोसामाजिक परामर्श तथा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था निःशुल्क गर्न, बालक र उनको परिवारलाई आवश्यक सहयोग तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ।

त्यस्तै, अनुसन्धान तथा न्यायिक प्रक्रियामा बालमैत्री पद्धति अपनाउँदै बालकको गोपनीयता, मर्यादा र सर्वोत्तम हितको संरक्षण गर्नुपर्नेमा अभियानले जोड दिएको छ।

सार्वजनिक कार्यक्रम तथा भीड नियन्त्रणका क्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न, बल प्रयोगसम्बन्धी मापदण्डको पालना गर्न र राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय बाल अधिकार परिषद्लगायतका निकायबाट घटनाको तत्काल अनुगमन गर्न पनि सिजपले आग्रह गरेको छ।

राजनीतिक दल, स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायले आफ्ना गतिविधिमा बालबालिकाको सर्वोत्तम हित र सुरक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अभियानले बालबालिकालाई हिंसा, द्वन्द्व र असुरक्षाबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने जनाएको छ।

सिजपले बालबालिकाको जीवन अमूल्य रहेको भन्दै उनीहरूमाथि हुने हिंसा, लापरबाही तथा अधिकार उल्लङ्घन अस्वीकार्य हुने स्पष्ट पारेको छ। अभियानले बालबालिकालाई शान्ति क्षेत्रका रूपमा सम्मान गर्दै हिंसा, द्वन्द्व र असुरक्षाबाट सुरक्षित राख्न सबै पक्षसँग अपिल गरेको छ।